हामी अर्थात् हिटलरका सिपाही

October 4, 2018

वैदेशिक रोजगारीमा जानेहरूले आफ्नो परिवार मात्र पालेका छैनन्, देशलाई पनि पालिरहेका छन् । दैनिक करोडौं रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिरहेको छ । सीप भएकाहरू, अंग्रेजी भाषामा राम्रो पकड भएकाहरू युरोप–अमेरिका पुगिरहेका छन् । कोही जापान, अस्ट्रेलिया र क्यानाडासम्म पुगेर आफ्नो भाग्य र मेहनतलाई डलरमा परिवर्तन गरिरहेका छन् । सीप, क्षमता र भाषामा कमजोरहरू भने खाडी मुलुकमा पसिना बगाइरहेका छन् ।

अहिलेको अवस्था कस्तो छ भने हरेक युवाले कुनै न कुनै रूपमा विदेश जाने सपना बुनिरहेको छ । आखिर सबै युवा किन विदेशकै सपना देख्छन् ? के विदेश जानु रहर मात्र हो वा यसभित्र अरू केही रहस्य पनि छ ?
००००
दोस्रो विश्वयुद्ध नजिकिँदै गएको समय । हिटलरको महत्वाकांक्षा र युद्धको त्रासदी रोक्न बेलायतले जर्मनीमा मन्त्रीस्तरको दूत पठायो । हिटलर कुनै पनि हालतमा युद्ध रोक्न चाहँदैनथे । बेलायती दूतलाई त्यसको छनक दिन उनले ठूलो सुरक्षा घेरामा जर्मनीको सबैभन्दा अग्लो घरको छतमा भोजको आयोजना गरे । भोज खाने क्रममा फ्रान्स, अमेरिका तथा बेलायतको सन्देश बोकेर आएका दूतले हिटलरलाई युद्ध सुरु नगर्न चेतावनी दिए । उनले धेरै देश र ठूलो शक्ति जर्मनीविरुद्ध प्रयोग हुने भएकाले हार निश्चित भएको ठोकुवा पनि गरे । अन्त्यमा दूतले सोधे, ‘हिटलर महासय, तपाईंसँग के छ र यत्रो युद्ध लड्ने हिम्मत गर्दै हुनुहुन्छ । प्रथम विश्वयुद्धमा जर्मनीको पराजयबाट पाठ सिक्नुभएन ?’
हिटलरले दूतलाई हेरे र भने, ‘म कसरी युद्ध जित्छु, तिमी जवाफ चाहन्छौ ?’

दूतले केही बोल्न नपाउँदै त्यहाँ सुरक्षार्थ खटिएको एउटा जवानलाई हेर्दै हिटलरले भने, ‘तिमी मेरो देशका लागि के गर्न सक्छौ, देखाइदेऊ ।’
सेनाले आफूले बोकेको हतियार भुईंमा राख्यो र कुद्दै जर्मनी कै सबैभन्दा अग्लो त्यो भवनबाट हाम फाल्यो । दूतको सातो गयो । ऊ फटाफट सिपाहीले हाम फालेको स्थानमा पुग्यो । भवन साँच्चै अग्लो थियो र हामफालेको स्थानबाट जवानको लास राम्रोसँग देखिन पनि सम्भव थिएन ।
‘देख्यौ ?’ हिटलर मुस्कुराउँदै दूतको छेउमा पुगे र भने, ‘के अझै मेरो शक्ति हेर्न चाहन्छौ ?’

दूतले केही बोल्नै पाएका थिएनन् । हिटलरको आँखा अर्को जवानमाथि पर्‍यो । दूतले आत्तिएर जवानलाई हेरे । बिजुलीको गतिमा त्यो जवानले पनि भवनबाट हामफाल्यो ।
दूत अवाक् भए । ‘यो त अति भयो । के गर्न खोजेको ?’

हिटलरले तेस्रो जवानतर्फ हेरे । तेस्रो जवान पनि मर्ने तयारीमा लागेको देखेपछि दूतले कुदेर उसको हात समाते र भने, ‘म तिमीलाई रोक्न सक्दिनँ, तर मर्नुअघि मलाई एउटा मात्रै प्रश्नको जवाफ देऊ, ‘यति सुन्दर जीवन किन एउटा इसारामै गुमाउन चाहन्छौ ? जीवन सुन्दर छ भन्ने तिमीलाई थाहा छैन ?’

‘दूत महोदय, के तपाईं यसलाई जीवन भन्नुहुन्छ ? कुनै पनि कोणबाट हामी बाँचिरहेका छौँ भन्ने लाग्छ ?’
यति भनिसकेर त्यो जवानले पनि उक्त भवनबाट हाम फाल्यो ।
००००
नेपालबाट बिदेसिएका सबैजसो नेपाली मलाई हिटलरका सेनाजस्तै लाग्छन् । आजको मितिमा अमेरिका, बेलायत, क्यानाडालगायत सबैजसो युरोपेली मुलुकका दूतावासले प्लस टु सकेका सबैलाई भिसा दिने निर्णय गरे भने नेपाल करिब–करिब खाली हुन्छ । किनभने नेपालमा जन्मिएका ९५ प्रतिशत जनता हिटलरका सेनाभन्दा फरक अवस्थामा बाँचिरहेका छैनौँ ।
००००
हिटलरका सेना त्यो ठूलो भवनबाट हाफ फालेर स्वर्ग पुगे कि पुगेनन्, भन्न सकिँदैन तर नेपालबाट भाग्यवश भिसा पाएका नेपालीहरूले विदेशमा दु:ख गरेर पनि आफू जन्मिएको ठाउँलाई स्वर्ग बनाउने प्रयास भने गरिरहेका छन् । यो कुरा जति बुझिन्छ, उहाँहरू प्रति साष्टाङ्ग दण्डवत् गर्न मन लाग्छ ।

Aswini Koirala