अर्को महाभारत

October 4, 2018

केही समयअघि बाटोमा भेटिएका एक जना ६९ वर्षका वृद्धसँग कुराकानी भयो । सामान्य रूपमा कुराकानी गर्न थालेको, उनले त एउटा गम्भीर कथा पो सुनाए । उनको कथा जस्ताको तस्तै सुनाउन मन लाग्यो ।
००००
एक जना नाम कहलिएका राजा थिए । साह्रै प्रतिभाशाली लेखपढ गर्न जान्ने, राजनीति बुझेका । मानिसहरू भन्थे, राजा भोलिको भविष्य आजै देख्न सक्छन् ।

तिनै राजाका पालामा एक जना तिखो, साह्रै विद्वान् बाहुन केटो थियो । राजकाज बुझेको । उच्च पदमा पनि पुगेको । लेखपढ गर्न जान्ने र साह्रै असल । देश दुनियाँ बुझेको र जनतालाई माया गर्ने मान्छे । अँ त्यो बाहुन केटोको नजर साह्रै कामुक थियो । कुनै स्त्रीलाई एकपल्ट हेरपछि ती स्त्री उनीप्रति भुतुक्कै हुन्थिन् ।

त्यो बाहुनसँग राजाको राम्रो दोस्ती थियो । राजाले नबुझेको कुरा बाहुनसँग सोध्थे, बाहुनले नबुझेको कुरा राजासँग सोध्थ्यो । बाहुन भए पनि ऊ प्रत्येक साँझको भेटमा राजासँगै जाँडपानी पनि खाइदिन्थ्यो । यसले उनीहरूको दोस्ती अझ गहिरिन थाल्यो । भेटघाटमा उनीहरूका श्रीमती पनि सँगै हुन्थे । यी दुईको प्रेम देखेर दुवैका श्रीमतीहरू पनि खुसी थिए । भारदारहरूबीच बाहुन र राजाको मित्रताको चर्चा हुन थाल्यो । हुँदा–हुँदा राजालाई सल्लाहकार नै नचाहिने, बाहुनलाई अरू साथी नै नचाहिने भयो । यसले देशको खर्चमा कटौती गर्‍यो । देश कमजोर हुँदा छिमेकी राज्यले फाइदा लिइरहेका थिए । अब त्यो रोकियो । राजाको चाकडी गरेकै भरमा खान पल्किएकाहरूको पनि जागिर जान थाल्यो । जो दरबारबाट बाहिर निकालिन थाले, उनीहरू छिमेकी राज्यको जासुस भएर आफ्नो दुनो सोझ्याउन थाले ।

एक साँझ जाँडपानी खानुअघि नै बाहुनलाई राजाले थुनिदिए । बाहुनकी श्रीमती तथा आफन्तहरू देशनिकाला गरियो । त्यसपछि राजाले कहिल्यै बाहुनको मुखमा हेर्दा पनि हेरेनन् । आफ्नो कुनै गल्ती नभए पनि यसरी थुनिनु पर्दा बाहुनको साह्रै चित्त दुख्यो । राजाले त भेट्न चाहेका थिएनन् तर रानी बाहुनलाई अति माया गर्थिन् । यो कुरा बाहुनलाई पनि थाहा थियो । बाहुनले रानीसँग भेट्न चाहेको सन्देश पठाए । एक रात राजा राजधानी बाहिर गएको मौका छोपी बाहुनसँग भेट्न रानी गोप्य रूपमा थुनुवा कक्ष पुगिन् ।

‘महारानी साहिबा, मेरो के गल्ती थियो ? मेरो परिवारको के गल्ती थियो ? ममाथि किन अन्याय गरियो ?’ बाहुन आक्रोशित थियो ।

‘तिम्रो गल्ती केही थिएन, छैन । तिम्रो आँखाको गल्ती हो ।’ रानीले भनिन्, ‘तिम्रो आँखाले मलाई फकाइरह्यो, तर तिमी कहिल्यै अघि बढेनौ । एक दिन म बेलायती रक्सी खाएर मात्तिएकी थिएँ । तिमीसँग बात मारिरहेकी थिएँ, कुन बेला राजाले मलाई तानेर कोठामा लगे, होसै पाइन । मैले त तिमी मानेर सबै कुरा भनेँ । मैले मन पराएको कुरा गरेँ । तिम्रो आँखाको प्रसंसा गरेँ ।’

‘ओहो, महारानी, नाकाम भएछ…… अनि के भयो ?’

‘राजाले मलाई एक झाप्पु हिर्काए । त्यसपछि म रुन थालें । मात्तिएको स्वरमा राजा भन्दै थिए, ‘तिम्रो गल्ती छैन प्रिये, म स्त्री भएको भए म पनि उसलाई यसैगरी माया गर्थें । तर एउटा म्यानमा दुईवटा तरबार अटाउन सक्दैन । अब उसले नाङ्गो हुनुपर्छ । उसका दुर्दिन सुरु भए ।’

‘अब के हुन्छ त ? राजा र म एक ठाउँ नबसी यो देशको भलाइ हुँदैन । के भन्नुहुन्छ त महारानी ।’

‘राजनीतिका बीचमा स्त्री आउनु हुँदैनथ्यो । महाभारतमा पनि द्रौपदी आएकी थिई । यहाँ म आएँ । अब महाभारत हुन्छ । मलाई लाग्छ, यो महाभारत १८ दिनमा टुङ्गिने छैन । हामी कोही रहने छैनौं । यो प्रेम पनि वियोगमै टुङ्गिने भयो ।’

त्यसपछि रानी धुरुधुरु रुन थालिन् । आजसम्म पनि रोइरहेकी छिन् ।

कथा भनिसकेपछि ती बूढाले मतिर हेर्दै भने, ‘यो कथा सबैलाई सुनाऊ, बुझाऊ र यसको प्रचार गर ।’

कथा कतै सुनेजस्तो–पढेजस्तो लाग्यो तर कहाँ पढेको सम्झन सकिएन । बूढालाई फकाएर सोधेँ, ‘बा, कथा लेख्न राजा र बाहुनको नाम चाहिन्छ । के थियो उनीहरूको नाम ?

‘राजाको नाम थियो, मवि र बाहुनको नाम बीपी ।’

Aswini Koirala