एथेन्सका शासक

October 4, 2018

उनी–पेज २५

पश्चिमा समाजमा चलेको एउटा प्रचलित कथा– त्यतिबेला एथेन्समा एउटा बलिया शासक थिए । वरपरका राज्य जित्दै जाँदा उनको महत्वाकांक्षालाई रोक्न वरपरका केही राज्यले स्पार्टाको नेतृत्वमा एथेन्सको सामना गर्ने योजना बनाउँछन् । यता एथेन्सका शासक सत्रु पक्ष जतिसुकै बलियो भए पनि सम्भावित युद्ध रोक्न चाहँदैनथे । उनलाई रोक्न स्पार्टाका शासकले आफ्ना दूतलाई एथेन्स पठाए । आफू कति बलियो छु भन्ने छनक दिन उनले ठूलो सुरक्षा घेरामा एथेन्सको दरबारमा भोजको आयोजना गरे । भोज खाने क्रममा स्पार्टाका दूतले एथेन्सविरुद्ध ठूलो शक्ति एकजुट भएको घोषणा गर्दै युद्ध सुरु नगर्न चेतावनी दिए । उनले धेरै देश र ठूलो शक्ति एथेन्सविरुद्ध प्रयोग हुने भएकाले हार निश्चित भएको ठोकुवा पनि गरे । अन्त्यमा दूतले सोधे, ‘सम्राट, तपाईंसँग के छ र त्यत्रो युद्ध लड्ने हिम्मत गर्दै हुनुहुन्छ ?
सम्राटले दूतलाई हेरे र भने, ‘म कसरी युद्ध जित्छु, तिमी जवाफ चाहन्छौ ?’
दूतले केही बोल्न नपाउँदै त्यहाँ सुरक्षार्थ खटिएको एउटा जवानलाई सम्राट्ले भने, ‘तिमी मेरो देशका लागि के गर्न सक्छौ, देखाइदेऊ ।’
सम्राट्को आदेश पाएपछि उक्त जवानले एउटा धारिलो हतियार आफ्नो छातीमा रोप्दै भन्यो, ‘जय एथेन्स’ । उक्त दृश्य देखेर दूतको सातो गयो ।

त्यसपछि सम्राट्ले मुस्कुराउँदै भने, ‘के अझै मेरो शक्ति हेर्न चाहन्छौं ?’
सम्राट्ले दोस्रो जवानलाई सम्बोधन गरेपछि ती दूतले उक्त सैनिकको हात समाते र भने, ‘म तिमीलाई रोक्न सक्दिनँ, तर मर्नुअघि मलाई एउटै मात्र प्रश्नको जवाफ देऊ, ‘यति सुन्दर जीवन तिमी किन एउटा इसारामै गुमाउन चाहन्छौ ?
प्रतिउत्तरमा सैनिकले भन्यो, ‘दूत महोदय, के तपाईं यस्तो जीवनलाई जीवन भन्नुहुन्छ ? जहाँ पाइला पाइलामा भय छ, अभाव छ । ’
यति भनिसकेर उक्त सैनिकले पनि आफ्नो घाँटी सेर्‍यो ।

Aswini Koirala